खै  कुन्नी किन हो उ  आज धेरै खुसी छ । सायद उसको मुहारमा धेरैपछि बल्ल आज  ओठ फाटिएको  होला , कारण थियो  आज  उ सङ्ग भएको पाँच रुपैया । केही दिनसम्म खाना खान नपाएर  भोकले तड्पिदा कसैले उसलाई पाँच रुपैयाँ दिएको थियो रे । उ छिट्टै पसलमा पस्छ र एउटा चुरोट र सलाई किनेर ल्याएर ढुङ्गामा बसेर खान थाल्छ । हिजो सौतेनी आमाको व्यबहार सहन नसकेर घर छाडेर भागेर आएको उ आज ब्यस्त बसपार्क मा आफ्नो धुमलिएको  हविगत देखाउदै छ । त्यसरी नै बसिरहदा खै कस्ले उसलाई ' ए काले ' भनेर बोलायो अनि हातले तेलको प्लास्टिक समातेर हावा फुक्दै "हजुर " भन्दै पछाडि फर्केर हेरेर भाग्छ । झन् घोरिएर हेर्छु उसले ५ वटा प्वाल परेको एउटा ठुलो बोरा बोकेर त्यसमा  प्लास्टिक , कागज हाल्दै हिड्छ ।

           त्यसपछि आर्को कुना मा हेर्छु त्यहाँ  त काहिली दिदि रहिछिन,थिइन बच्चा सम्हाल्दै । बुढाले कान्छी  श्रीमती ल्याएपछी  छोरा छोरी लिएर घरबाट भागेकी उनी आज छिन , अन्जान बसपार्कको  कुनामा । तत्काल देख्छु एउटा मान्छे ले पाँच रुपैया दिएको । उनी छिटटो  पसलमा पस्छिन आनि एउटा चाउचाउ  किनेर ल्याएर आफू नखाइ नखाइ छोराछोरीलाई दिन्छिन अनि कान्छो छोरालाई दुध चुसाउदै भाग्यलाई सराप्दै बस्छिन ।



     
        अब त आति नै भयो भनेर जब गाडीको सिटमा बस्छु तब पनि त्यही करुणाको छायाले  पिछा छोडेन।

     तब आगडी हेर्छु ,   करिब ८० बर्ष उमेर भएका बृद्ध बुढा नाम (दले बा): जो पछाडी च्यातिन लागेको झोला बोकेर आफु सङग भएको वडाध्यक्ष र सचिवको सिफारिस कागज  लिएर सबै यात्रुलाइ देखाउदै आउदै थिए तर कसै बाट केही पनि  मिल्दैन । तब आफ्नो खोल्ती छाम्छु । ३० रुपैयाँ थियो ,२५ लाग्ने भाडा कटाएर बाकी ५ रुपैया दिए । उनी खुशी हुँदै थर्थराएको हातले त्यो पाँच रुपैया टिप्छन अनि ढल्के हिडाइमा गाडीको ३ सिढीबाट ओर्लन्छन र सबैजनाको ५रुपैयाँ जम्मा गरेर दुनोट र तरकारी खान थाल्छन । जीवन को अविरलता ले  घरबाट छोरा बुहारीले खेदाएपछीको गन्तव्यहिन हिडाइले आज उनलाई यहाँ ल्याइपुर्याएको छ,जहाँ ऊनी चाउरी परेका गाला सहित  बुढ्यौलीपनको  एक प्रतिनिधि पात्र बनेका छन ।



हो यहीँ हो व्यस्त बसपार्कको नेपथ्यरुपी वास्तविकता , यहीँ बसपार्कको रङ्गमन्चमा कहिले काले, कहिले काहिली दिदि र कहिले बुढा बा आफ्नो अवस्थाको अभिनय गर्छन । यहाँ यी कलाकारको यति बिगिबिगी छ  कि मानौ यहाँ ५ रुपैयाँ कमाउन होडबाजी नै चलिरहेको छ र यहीँ बसपार्कको गर्भबाट पछिसम्म तिनै काले,काहिली दिदी र दले बा को जन्म भैरहन्छ । यो ५ रुपैयाँ यिनिहरुको जीवन हो , जसलाइ पाएपछी उनिहरु आफुलाइ बिल गेटस सम्झन्न्छन । लामो समयसम्म खान नपाएर सुतेको उनिहरुभित्रको कुम्भकर्णलाई ५ रुपैयाले बिमझइदिन्छ । भर्खरै जन्मेर निष्क्रिय भएजस्तैको उनका खुट्टालाई त्यही ५ रुपैयाले बामे सर्न सिकाएर हिंड्न् लगाएको छ।
अत: बसपार्क एउटा यी काले,काहिली दिदि र दले बा को आश्रयस्थल मात्र होइन यो यिनिहरुको हात र पेट पूरा गर्ने एक विशाल मानवताको सङ्ह्रालाय हो ।